KulGautam.org

Home of Kul C. Gautam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

ँअयोग्य’का लागि सुयोग्य प्याकेज

E-mail Print PDF
share

फाल्गुन १६ -
खल्तीमा २२ हजार रुपैयाँ र काखमा स-साना बच्चा च्यापेर माओवादी शिविरबाट बहिर्गमन भएका "अयोग्य" लडाकुहरू हिँडेको दृश्य थोरै हर्ष र धेरै विस्मातको मिश्रति अनुभूति थियो ।  

अन्तर्राष्ट्रिय कानुनअनुसार त सर्वप्रथम तीमध्ये अधिकांशलाई माओवादी सेनामा भर्ना गर्नु नै हुँदैनथ्यो । विस्तृत शान्ति सम्झौताका अनुसार उनीहरूलाई दुई वर्ष पहिले शिविरबाट हटाउनुपथ्र्याे । नहुनुभन्दा ढिलो हुनु राम्रो हो । ढिलै भए पनि उनीहरू क्यान्टोनमेन्ट छाडेर परिवारसाग पुनःमिलनका लागि आ-आफ्ना घर गए ।  अब उनीहरूले शान्तिपूर्ण नागरिक जीवन बिताउन पाउन् भन्ने आशा गरौं । 

आफ्नै नेताले नभड्काएको अथवा स्वतन्त्र रूपले रोज्न दिएको भए अनमिनले प्रमाणीकरण गर्दा १८ वर्ष नपुगेको हुनाले "अयोग्य" ठहरिएका अधिकांश लडाकुले राष्ट्रसंघको नेपाल टोलीले तयार गरेको फलदायी पुनःस्थापना प्याकेज लिएर खुसीसाथ क्यान्टोनमेन्ट छाड्ने थिए । दुर्भाग्यवश, माओवादी नेताहरूले लडाकुहरूलाई पुनःस्थापना "प्याकेज"मा के छ र यसमा कसरी सुधार गर्न सकिन्थ्यो भन्ने बारेमा राष्ट्रसंघका कर्मचारीसँग स्वतन्त्रतापूर्वक कुरा गर्न दिएनन् । 

उदाहरणका लागि राष्ट्रसंघको टोलीले स-साना बच्चा भएका महिला लडाकुहरूसँग कुराकानी गर्न पाएको भए ती बच्चाहरूलाई फाइदा पुग्ने खालको थप विशेष प्याकेज तयार गर्न सकिन्थ्यो, तर बच्चाहरूको विवरण लिने प्रश्नलाई बहिर्गमन फारममा राख्न दिइएन । 

धेरै बालबालिकालाई उनीहरूले प्राथमिक स्कुल सिध्याउनुभन्दा पहिल्यै अनेक डर र लोभ देखाएर माओवादी सेनामा भर्ना गरिएको थियो । माओवादी भर्तिवालाले उनीहरूलाई आफूले पढिरहेको "बुर्जुवा शिक्षा" बेकारको काम नलाग्ने भनेर उक्साएका थिए, जबकि त्यतिबेला माओवादीका नेताहरूले भने आफ्ना छोराछोरीलाई त्यही "बुर्जुवा शिक्षा" पढाइरहेका थिए । विगतमा त्यस्तो दृष्टिकोण पस्केका माओवादी नेतृत्वका लागि अहिले आएर मुक्त लडाकुहरूलाई त्यही "बुर्जुवा शिक्षा" लिन प्रोत्साहित गर्नु अलि असजिलो थियो होला । तर निर्दयतापूर्वक अवरुद्ध गरिएको उनीहरूको स्कुले शिक्षा पूरा गर्नका लागि राष्ट्रसंघले तयार गरेको शैक्षिक प्याकेज अधिकांश लडाकुका लागि निकै उत्कृष्ट खालको छ ।

"अयोग्य" लडाकुहरूका तर्फबाट सरकार र राष्ट्रसंघसँग वार्ता गरिरहेको माओवादी नेतृत्वले धेरै नगद एकमुष्ठ हात पार्न अथवा पूर्व लडाकुहरूलाई आफ्नै पार्टीको निरन्तर निर्देशन र प्रभाव रहने खालको संगठित सामूहिक क्रियाकलापमा सामेल गराउने प्रयास गरेको थियो । तर बालसैनिक पुनःस्थापनासम्बन्धी राष्ट्रसंघको निर्देशक सिद्धान्तले यस्तो प्रबन्धलाई स्वीकार गर्ने कुरा आउँदैनथ्यो ।    

आफूले चाहेजस्तो प्याकेज पाउन नसक्ने भएपछि माओवादी नेतृत्वले राष्ट्रसंघको प्याकेजलाई अपमानजनक र अस्वीकार्य भनी भत्र्सना गर्नुका साथै यसलाई तुच्छ देखाउने कोसिस गर्‍यो । नेपाली मिडियाले पनि उक्त प्याकेजका सकारात्मक प्रावधानको प्रचार-प्रसार गरिदिएन । वास्तवमा त्यो प्याकेज संसारकै सबैभन्दा उत्तम प्याकेजको दर्जाको थियो र अझै पनि छ । क्यान्टोनमेन्टमा नभएका अधिकांश नेपाली युवाहरूले यस्तो प्याकेज पाउने भए आफूलाई अति भाग्यमानी ठान्ने थिए ।

प्याकेजमा व्यवस्था भएको शैक्षिक सहयोग अन्तर्गत पूर्वलडाकुहरू आफ्नो गाउँ-ठाउँको अथवा नजिकैको प्राथमिक, माध्यमिक अथवा उच्च माध्यमिक स्कुलमा भर्ना हुन सक्छन् । आफ्ना गाउँभन्दा टाढा स्कुल पढ्नुपर्ने अवस्थाका बालिकाका लागि सरकारी होस्टलमा  बस्ने व्यवस्था गरिएको छ । स्कुलमा आफ्नो उमेर अनुरूपको माथिल्लो तहको कक्षामा भर्ना हुन पूर्वलडाकुहरूले अनौपचारिक साक्षरता कक्षा अथवा साक्षरतापछिको कक्षामा पढ्ने मौका पाउँछन् । नियमित रूपमा स्कुल जान नसक्नेहरूले चाहेका खण्डमा स्कुल बाहिरै अध्ययन गरी ८ र १० कक्षाको जाँच दिई १२ कक्षासम्मको पढाइ सक्ने अवसर पाउँछन् । 

यस्ता शैक्षिक विकल्प रोज्नेहरूले स्कुल गएबापत नेपालको सन्दर्भमा आकर्षक छात्रवृत्ति पाउने व्यवस्ता छ । पूर्वलडाकुहरूले विभिन्न खालका व्यवासायिक सीप सिकी आफ्नो व्यवसाय चलाउन र उद्यम सुरु गर्न सहयोग पाउन सक्छन् । यस्ता सीपमूलक तालिममा भाग लिनका लागि शैक्षिक योग्यता नपुगेमा कक्षा ८ अथवा एसएलसीसम्मकै शैक्षिक योग्यता हासिल गर्नका लागि उनीहरूले सहयोग पाउँछन् । तालिमभरका लागि उनीहरूको जीवन निर्वाहका लागि मासिक छात्रवृत्ति पाउँछन् ।

तालिम सकिएपछि उनीहरूले सबैतिर मान्यता पाउने खालको तालिम प्रमाणपत्र पाउँछन् । संयुक्त राष्ट्रसंघले नेपालका ५ वटै विकास क्षेत्रमा सञ्चालन गरेको "लघु उद्यम विकास कार्यक्रम"मार्फत स-साना व्यवसाय थाल्न अथवा स्वदेशमा वा विदेशमा रोजगारी पाउनका लागि आवश्यक औजार किन्ने रकम, लघुऋण सुविधाका साथै पेसासम्बन्धी परामर्श पाउँछन् ।

पूर्वलडाकुहरूलाई सीएमए, ल्याब असिस्टेन्ट, सामुदायिक स्वास्थ्य कार्यकर्ता अथवा मातृशिशु स्वास्थ्य कार्यकर्ताका रूपमा स्वास्थ क्षेत्रमा रोजगारी पाउनका लागि आवश्यक तालिमको एकदमै आकर्षक विकल्प पनि दिइएको छ । यस्तो तालिम लिएपछि रोजगारीका त्यति चिन्ता गर्नु पर्दैन, किनभने तालिमप्राप्त स्वास्थ्य कार्यकर्ताले रोजगारी पाउने अवसर धेरै नै छन् ।  

यसरी स्कुल जान र तालिम लिनका लागि आकर्षक छात्रवृत्ति र जीवन निर्वाहका लागि खर्च पाए धेरै नेपाली युवा आफ्नो जिन्दगीको धोको पूरा भएको ठान्ने थिए । तर "अयोग्य" लडाकुहरूका तर्फबाट मोलतोल गरिरहेका माओवादी नेताहरूले लडाकुहरूलाई प्याकेजको फाइदाका बारेमा पूर्णरूपमा बुझ्न नदिनु दुर्भाग्यपूर्ण हुनगयो । नेताहरूले आफू पनि केही दिन नसक्ने र राष्ट्रसंघले दिएको सुविधा लिन पनि निरुत्साहित गर्नु त्रुटिपूर्ण निर्णय भएको छ । यो दुःखद अनुभवको ख्याल गरेर माओवादी नेताले भविष्यमा "योग्य" लडाकुको पुनःस्थापन गर्दा पनि यस्ता गल्ती फेरि नगरुन् भन्ने बारेमा लडाकुहरू आफंै सजग हुनु जरुरी देखिन्छ ।

तर खुसीको कुरा के छ भने "अयोग्य" भनिने सम्पूर्ण ४ हजार आठ लडाकुहरूले यी अवसर लिने समय बितिसकेको छैन । उनीहरूले आफू बहिर्गमन भएको एक वर्षभित्र यस्तो मौका पाउनका लागि निवेदन दिन सक्छन् । यसका लागि उनीहरूले पैसा तिर्नु नपर्ने टेलिफोन नम्बर १६६०-०१-७७८८ मा सम्पर्क राख्न सक्ने व्यवस्था छ । मुक्त भएका चार सयजति लडाकुहरूले यस नम्बरमा फोन गरिसकेका छन् । अरूलाई पनि यसो गर्न प्रोत्साहन दिइन्छ ।

यी युवाहरूका सामु राष्ट्रको सेवा गर्ने अनेक उपाय छन् । अधुरो रहेको आफ्नो पढाइ पूरा गर्नु, तालिम लिएर व्यावसायिक सीप सिक्नु र सम्मानित पाराको गैरसैनिक रोजगारीमा लाग्नु आफ्नो व्यक्तित्व विकास गर्ने र राष्ट्रको सेवा गर्ने सबैभन्दा उत्तम उपाय हो । माओवादी नेताहरूका सामु आफ्ना छोराछोरीलाई गुणस्तरीय "बुर्जवा शिक्षा" दिने र गैरसैनिक क्षेत्रमा राम्रो रोजगारीमा लगाउने अनेक उपाय छन् । यी विचरा "अयोग्य लडाकुहरू" सामान्य, गरिब किसान र मजदुरका छोराछोरी हुन् । उनीहरूले राष्ट्रसंघले अघि सारेको अति उपयोगी पुनःस्थापना प्याकेजको फाइदा लिएर आफ्नो भविष्य आफैं निर्माण गर्ने दिशामा लाग्नु बुद्धिमतापूर्ण हुनेछ ।

लेखक राष्ट्रसंघका पूर्वसहायक महासचिव हुन् ।

Source: http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=11962

English Version: http://www.ekantipur.com/the-kathmandu-post/2010/02/28/Oped/Gifts-galore/5657/

You are here: Kul's Articles ँअयोग्य’का लागि सुयोग्य प्याकेज