अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम

जनताका ‘पब्लिक इन्टेलेक्चुअल’
महाभूकम्पले थलिएको मुलुकका लाखौं जनता अहिले पनि अस्थायी शिविरमा कष्टकर जीवन बिताउन बाध्य छन् । मधेश आन्दोलन र अमानवीय भारतीय नाकाबन्दीको दुःखबाट तंग्रिन थाले पनि देश लगातार सरकार परिवर्तन, कुशासन र भ्रष्टाचारको रोगबाट ग्रस्त छ । ‘संविधान बनेर पनि देशमा केही नहुने भो’ भन्ने निराशाका कारण जनतामा अवसाद बढ्दो छ ।

यस्तै बेला देशमा बौद्धिकवर्गको खाँचो पर्छ, जसको तथ्य, न्याय र विवेकमा आधारित विचारले जनतामा भविष्यप्रति भरोसा जगाओस् । जनताका बौद्धिक तिनै हुन्, जसले समाजका गलत परम्परा र प्रवृत्तिविरुद्ध सधैं आलोचनात्मक धारणा राख्छन्, प्रश्न गरिरहन्छन् र समाधानका सूत्र दिन्छन् । उनीहरू बौद्धिक विलासमा होइन, आवश्यक परे निर्भयताका साथ सडकमै उत्रन्छन् । विधि र जवाफदेही शासनका खातिर न हूलबाट लुक्छन् न शक्ति र सत्तासँगै सम्झौता गर्छन् ।

हिमाल को यो दशैं अंक नेपालका तिनै बौद्धिकहरूमा समर्पित छ, जसले आफ्नो ज्ञान, समय र कर्मलाई जनतासँग जोडेका छन् । लोकतन्त्र, राष्ट्रिय स्वाभिमान, अहिंसा, संघीयता, धर्मनिरपेक्षता र सामाजिक सद्भाव उनीहरूको मूलमन्त्र हो । प्रतिकूल अवस्थामा पनि सत्य बोल्न सक्ने उनीहरूको साहसकै कारण नेपाली समाज थप बिग्रनबाट जोगिएको हो भनी सहजै भन्न सकिन्छ ।

हामी स्वीकार्छौं, नेपालका सबै ‘पब्लिक इन्टेलेक्चुअल’ यो अंकमा समेटिन सकेका छैनन् । ज्ञान निर्माणको निरन्तर प्रक्रियासँगै बौद्धिकवर्गको उदय हुने भएकाले त्यस्ता सत्पात्रहरूको खोजी हिमाल को नियमित कर्तव्य पनि हो । समाजको गतिशीलतासँगै नयाँ ‘पब्लिक इन्टेलेक्चुअल’ को आशा सर्वदा रहिरहने नै छ । - सम्पादक
—————————————————

अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम
कुलचन्द्र गौतम (६९) ले नेपाली जनताले भोगिरहेको संक्रमणकाल र राजनीतिक अस्थिरताबारे ताली र ‘रेकग्निशन’ विनै संसारलाई बुझाइरहेका छन् ।

फराकिलो बौद्धिकता, अन्तर्राष्ट्रिय समुदायको ज्ञान र अनुभव तथा नेपालीका समस्यामा गहिरो अध्ययनपश्चात् बोल्ने साहस– यी गुणले कुलचन्द्र गौतमलाई ‘सार्वजनिक बौद्धिक’ बनाउँदछ ।

गुल्मीको अमरपुर गाउँमा जन्मी स्थानीय पाठशालामै पढेर काठमाडौं उक्लिएर एसएलसी दिएका गौतम फाल हानेर अमेरिकाको डार्टमथ नामक ‘आईभी लीग’ कलेजमा पढ्न पुगे । तत्पश्चात् शुरू भयो गुल्मेली केटोको अन्तर्राष्ट्रिय जीवन ।

संयुक्त राष्ट्रसंघको बालबालिकाको लागि काम गर्ने संस्था युनिसेफको लागि शुरूमा भियतनाममा काम थालेका गौतमको दशकौंको कार्यथलो दक्षिण (ल्याटिन) अमेरिका हुन पुग्यो, जसका कारण आजसम्म पनि उनको अंग्रेजी बोलीमा ‘हिस्प्यानिक’ लवज पाइन्छ ।

“बालबालिकाको संवेदनशीलता, व्यवहार र सिद्धान्त मैले युनिसेफका जुझरु र डाइनामिक एक्जेक्युटिभ डाइरेक्टर जिम ग्रान्टबाट सिकें” गौतम भन्छन् ।

नेपालमा द्वन्द्व बल्झँदै जाँदा गौतमले आफ्नो उच्च ओहोदाबाट अनौपचारिक हिसाबले शान्तिको प्रयास गरे । ‘अन्तर्राष्ट्रिय सिभिल सर्भेन्ट’ भएका कारण यसलाई उनले जोखिम उठाएकै मान्नुपर्छ । त्यतिबेलासम्म उनी युनिसेफको डेपुटी डाइरेक्टर र एसिस्टेन्ट सेक्रेटरी जनरलको पदमा पुगिसकेका थिए ।

अवकाशपश्चात् अरू दौंतरी जस्तै अमेरिका–यूरोप बसाइँसराइ नगरी गौतम सीधै नेपाल फर्किए । र, आफ्नो अनुभव र सक्रियताबाट नेपाली समाजलाई शान्तिपथमा लैजान प्रयत्न गरे । हिंसाविरोधी उनी नेकपा (माओवादी) को सुरक्षित अवतरणको लागि हिमायती बने । तर, माओवादीको खुला हुँदाका उच्छृङ्खलताबारे टिप्पणी गर्न पनि पछि हटेनन् ।

अन्तर्राष्ट्रियस्तरमा उच्चतम ओहोदामा पुगेका नेपाली गौतमलाई माधवकुमार नेपाल सरकारले संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्षतामा उम्मेदवारीमा प्रस्तुत गर्‍यो, तर थोरै मतले उनी हारे ।

‘हिंसा विरोध शान्ति अठोट’ कार्यक्रममार्फत गौतम देशभर दौडाहामा लागे, जसले द्वन्द्वकालपश्चात् पहिलो पटक जनतामाझ ठूला जमघट र र्‍याली गर्ने आँट दिलायो । कार्यक्रममा उनलाई महजोडी र आनी छोइङ डोल्मा जस्ता हस्तीको साथ थियो ।

नेपालको शान्ति प्रक्रियामा माओवादीको अड्को बुझेका गौतमले मनको कुरा बोल्न हिच्किचाएनन् । यसैकारण उनी माओवादी पंक्तिबाट ‘जनदुश्मन’ घोषित भए ।

बाल सैन्य प्रयोगमा माओवादी जवाफदेही हुनुपर्छ भन्ने अडान राखेका गौतम बाबुराम भट्टराईको ‘संविधान मस्यौदा’ ले नेपाललाई उत्तरकोरियाको बाटोमा धकेल्ने बुझाइ सार्वजनिक गर्न पनि हच्किएनन् । जब पुष्पकमल दाहालले अविश्वसनीय एक चिनियाँ गूटको भरमा लुम्बिनीमा हुँदै नभएको तीन विलियन डलर खर्च गर्ने कुरा ल्याए, त्यसलाई रोक्न पनि गौतम अग्रपंक्तिमै उत्रिए ।

गौतमको खूबी भनेको विषयको गहिरो अध्ययन र आफ्नो धारणामा प्रष्ट र निडर अभिव्यक्ति हो । लेख, सभा–सम्भाषणमा मात्र होइन, नेपालको शान्ति प्रक्रियाबारेको उनको पुस्तक लष्ट इन ट्रान्जिसन मा पनि उनको यही शैली झल्किएको छ ।

गौतम नेपाल फर्किएपछि उनी शान्ति प्रक्रिया तथा माओवादी सेनाको ‘डिमोबिलाइजेसन’ प्रक्रियाका विशेषज्ञ हुनपुगे । यस्तै उनी लुम्बिनी क्षेत्र विकासका स्रोत व्यक्ति पनि बन्न पुगे र गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार समितिको संयोजक भएर हिरोशिमा र नागाशाकी शहर प्रमुखलाई पहिलो पुरस्कार दिलाएका थिए ।

संयुक्त राष्ट्रसंघको ‘अनमिन मिसन’ को क्रियाकलापले शान्ति प्रक्रियालाई नकारात्मक मोड दिन थालेपछि गौतम त्यसको खिलाफमा उभिए ।

उपलब्ध ज्ञान र सूचनाको भरमा निडर गौतमले आफ्नो विचार काठमाडौंमा त राखे नै, यहाँका आवासीय राजदूत तथा बृहत् अन्तर्राष्ट्रिय पहुँचका व्यक्तिलाई पनि सूचित गरे । जनताले भोगेको निरन्तरको संक्रमणकाल र राजनीतिक अस्थिरताबारे गौतमले ताली र ‘रेकग्निशन’ विनै संसारलाई बुझउने काम गरिरहेका छन् ।

कुनै पनि अन्तर्राष्ट्रिय कूटनीतिक पात्रको काम ठीक/बेठीक लागेमा प्रमाण र फेहरिस्तसहित ती पात्रलाई सोझै इमेल लेख्ने उनको अर्को विशेषता हो । यो स्वभावले उनी दशकलामो संक्रमणकालभर नेपाली जनताको गुप्त अन्तर्राष्ट्रिय पहरेदार रहिरहे ।

सूचनामा ‘अप–टू–डेट’ निडर र आफूले जानेका कुरा निर्धक्क राख्ने क्षमता भएका अद्भुत अन्तर्राष्ट्रिय नेपाली नागरिक हुन्– कुलचन्द्र गौतम ।
-कनकमणि दीक्षित

नोटः हिमाल खबरपत्रिकाको दशैं अंकमा ‘हाम्रा बौद्धिक’ शिर्षकमा प्रकाशित सबै व्यक्तित्वबारेको सामाग्री हिमालखबरमा क्रमशः प्रकाशित गरिनेछ ।